काठमाडौं– क्रोएसियाका स्टार मिडफिल्डर लुका मोड्रिचलाई प्रशिक्षक स्लाभेन बिलिचले नेसन्स लिगका लागि राष्ट्रिय टोलीमा समावेश गरेका छन्।
४१ वर्षीय मोड्रिचले क्रोएसियाका लागि आफ्नो उत्कृष्ट अन्तर्राष्ट्रिय करिअरलाई निरन्तरता दिने भएका हुन्।
क्रोएसियाले नेसन्स लिगको समूह ‘ए’ अन्तर्गत सेप्टेम्बर २६ मा चेक गणतन्त्रसँग पहिलो खेल खेल्दा मोड्रिचले राष्ट्रिय टोलीका लागि २०३औं खेल (क्याप) पूरा गर्नेछन्।
गत जुलाईमा मोड्रिचले इटालियन क्लब एसी मिलानसँग थप एक सिजनका लागि सम्झौता गरेका थिए। पाँचौं विश्वकप खेलेर फर्किएपछि मिलानले उनको नयाँ सम्झौताको घोषणा गरेको थियो।
मोड्रिच अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २३३ खेल खेलेका छन् भने अर्जेन्टिनाका लिओनल मेसीले २०७ खेल खेलेका छन्।
मोड्रिचलाई टोलीमा समावेश गर्न आफूले कुनै दबाब वा मनाउने प्रयास गर्न नपरेको प्रशिक्षक बिलिचले बताएका छन्। ‘उनी क्रोएसिया र राष्ट्रिय टोलीप्रति निकै भावुक छन्। त्यसैले यो सबैका लागि फाइदाजनक अवस्था हो,’ बिलिचले भने।
नेसन्स लिगको समूहमा क्रोएसियाले विश्वकप विजेता स्पेन र इङ्ल्यान्डको समेत सामना गर्नेछ। समूह चरणका खेल सेप्टेम्बरदेखि नोभेम्बरसम्म सञ्चालन हुनेछन्।
तर‚ मोड्रिचलाई समूह चरणका सबै खेलमा खेलाउने योजना नरहेको प्रशिक्षक बिलिचले संकेत गरेका छन्। उनका अनुसार मोड्रिचलाई एसी मिलानमा खेलिरहेको जस्तै लयअनुसार खेलाइनेछ।
‘उनी हाम्रो र उनको अनुकूल हुने गतिमा खेल्नेछन्। मिलानमा उनको जस्तै लय हुनेछ। हामीले त्यसलाई सम्मान गर्नुपर्छ र यही सबैका लागि राम्रो हुनेछ,’ बिलिचले भने।
सन् २०१८ का बालोन डी’ओर विजेता मोड्रिचले पछिल्लो विश्वकपमा क्रोएसियाका चारै खेलमा सुरुआती ११ मा स्थान बनाएका थिए। उनले सोही प्रतियोगितामा राष्ट्रिय टोलीका लागि २०० खेलको आँकडासमेत पार गरेका थिए।
विश्वकपको अन्तिम ३२ को खेलमा पोर्चुगलसँग २–१ ले पराजित हुँदै क्रोएसियाको यात्रा विवादास्पद रूपमा समाप्त हुँदा मोड्रिच १०९ मिनेटसम्म मैदानमा थिए। उक्त खेलमा क्रोएसियाको गोललाई मान्यता नदिइएपछि खेल थप चर्चामा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।