काठमाडौं– रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलमा ८५ वर्षीय बखतमान लामा र ८६ वर्षीया कान्छीमाया तामाङलाई घरभित्रै बन्धक बनाई लुटपाट गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
भक्तपुरका विभिन्न स्थानबाट लुटिएका सामान, नगद र प्रयोग गरिएका सवारीसाधनसहित उनीहरूलाई शनिबार नियन्त्रणमा लिइएको हो। गत बिहीबार राति नकाबधारी समूहले वृद्ध दम्पतीको हात टेपले बाँधी, मुख र आँखा थुनेर ज्यान मार्ने धम्की दिँदै गरगहना तथा नगद लुटपाट गरी फरार भएका थिए।
पक्राउ पर्नेहरूमा सिन्धुली घ्याङलेखका २५ वर्षीय सुमन जर्घा मगर, खाँडादेवी रामेछापका ३२ वर्षीय दीर्घराज मोक्तान, र काठमाडौँमा ‘इन्ड्राइभ’ चालकका रूपमा कार्यरत खाँडादेवीकै ३३ वर्षीय पशुपति श्रेष्ठ रहेका छन्। उनीहरूका साथबाट लुटिएको नगद, सवारीसाधन, बैंकको चेकबुक र बहुमूल्य धातुका औँठी लगायतका सामान बरामद गरिएको छ।
साथै, लुटिएको सुनचाँदी खरिद-बिक्रीमा संलग्न रहेको अभियोगमा भक्तपुरमा व्यवसाय गर्ने झापा दमकका ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटाका ३८ वर्षीय गुणराज विश्वकर्मालाई समेत सुनका रिङसहित प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार अनुसन्धानका क्रममा पशुपति श्रेष्ठको समूहले खाँडादेवी–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी गरेको र स्थानीयको खसी-बोका चोरीमा समेत संलग्नता रहेको खुलेको छ।
नेपाल प्रहरीको सीआरएस प्रणाली जाँच गर्दा पशुपति श्रेष्ठविरुद्ध डाँका तथा चोरी, दीर्घराज मोक्तानविरुद्ध अभद्र व्यवहार र गुणराज विश्वकर्माविरुद्ध जुवा कसुरमा यसअघि नै मुद्दा चलिसकेको पाइएको छ। घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रामेछापले थप कानुनी कारबाही र गहन अनुसन्धान अगाडि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।