काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने आरोपमा प्रहरीले काठमाडौंको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भदौ २० गते साँझ करिब ५:५० बजे गोप्य सूचनाका आधारमा काठमाडौं महानगरपालिका–८ रातोपुलस्थित सफिक मासु पसलमा छापा मारिएको थियो। त्यसक्रममा पसलको भित्री सटरमा बाख्री काटेर मासु बिक्रीका लागि राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त मासु खसीको मासु भन्दै प्रतिकिलो १ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको थियो। पसलमा काट्नका लागि एउटा जिउँदो बाख्रीसमेत राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा मासु पसल सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–८ रातोपुल बस्ने २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भई हाल काठमाडौं महानगरपालिका–७ सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–८ रातोपुल बस्ने २१ वर्षीय सुजन रसाइली रहेका छन्।
पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशालामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।