काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फोन गरी भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
टेलिफोन कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले बाढीमा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाली जनता र नेपाल सरकारप्रति अमेरिकाको ऐक्यबद्धता रहेको बताएका छन्।
लामिछानेले भोटेकोशी बाढीपछि उद्धार, खोजी तथा राहतका लागि नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी रुबियोलाई गराएका छन्।
उनले नेपाली नागरिकको सुरक्षासँगै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षा र संरक्षणप्रति समेत सरकार समान रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
लामिछानेले विपद्को कठिन समयमा अमेरिकी सरकारले गरेको सहयोगप्रति रुबियोलाई धन्यवादसमेत दिएका छन् ।
जवाफमा अमेरिकी विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई आवश्यक परे थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएको सभापति लामिछानेको सचिवालयले जनाएको छ।
भोटेकोशी बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएपछि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायबाट नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।