काठमाडौं– नेपाल आयाल निगमले पछिल्लो तीन दिनमा ८७ हजारभन्दा बढी सिलिन्डर खाना पकाउने एलपी ग्यास काठमाडौं उपत्यका भित्रिएको जनाएको छ ।
१८ भदौदेखि २० भदौ (शनिबार)सम्म विभिन्न कम्पनीका कुल ८७ हजार ८७७ सिलिन्डर ग्यास काठमाडौं भित्रिएको निगमले जनाएको हो ।
पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिरमा पहिरो जाँदा सो बाटो अवरुद्ध बन्न पुगेको छ । यसको विकल्पमा कुलेखानी–भीमफेदी बाइरोडहुँदै ग्यास भित्र्याइरहेको पनि निगमले जनाएको छ ।
निगमका अनुसार १८ भदौमा २४ हजार ४९४ सिलिन्डर ग्यास काठमाडौं भित्रिएकोमा १९ भदौमा ३४ हजार १३४ सिलिन्डर र २० भदौमा २९ हजार २४९ सिलिन्डर ग्यास काठमाडौं भित्रिएको छ ।
पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा पहिरो गएको कारणबाट १४ भदौदेखि बाटो अवरुद्ध भएकोले काठमाडौं, धादिङ तथा काभ्रेपलाञ्चोकमा भएका ग्यास उद्योगका ग्यास सिलिन्डरहरू अर्को व्यवस्था नभए सम्मका लागि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरी जिल्लामा अवस्थित उद्योगहरूमा रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।