काठमाडौं– परिवारले मृत्यु भएको ठानेर कुशको शव बनाएर काजकिरिया सुरु गरिसकेको थियो। बाढी आएको दिनदेखि तिथि गणना गरेर १०औँ दिनको कर्मसमेत सकिएको थियो। शनिबार ११औँ दिनको कर्म चलिरहेका बेला परिवारमा अचानक खबर आयो– ‘चण्डिका जीवितै भेटिनुभयो।’
नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीकी ६४ वर्षीया चण्डिका श्रेष्ठको परिवारले कल्पनासमेत नगरेको यो खबर सुनेपछि काजकिरिया रोकियो। आफन्तहरू तत्काल काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालतर्फ लागे।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बेत्रावती क्षेत्रमा समेत ठूलो क्षति पुर्यायो। बाढीपछि चण्डिका सम्पर्कविहीन भइन्। घर बगेपछि परिवारले सम्भावित सबै ठाउँमा खोजी गर्यो। बेत्रावतीका सडक, घरका भग्नावशेषदेखि बाढीले थुपारेको लेदो र आसपासका क्षेत्रमा आठ दिनसम्म खोज्दा पनि उनको कुनै पत्तो लागेन।
वडा कार्यालयको प्रक्रिया र परिवारसँगको सल्लाहपछि उनलाई अब जीवित भेटिने सम्भावना नरहेको निष्कर्षमा परिवार पुग्यो। त्यसपछि कुशको शव बनाएर मृत्यु संस्कार सुरु गरियो।
तर शनिबार बिहान घटनाले नाटकीय मोड लियो।
बेत्रावती बजारमा सडक निर्माणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोली भग्नावशेष आसपास पुगेका बेला प्रहरी निरीक्षक सुमन विकको नेतृत्वको टोलीले घरभित्रबाट आवाज आएको जस्तो सुन्यो। दोहोर्याएर त्यही स्थानमा पुग्दा आवाज स्पष्ट सुनिएपछि सुरक्षाकर्मीले भग्नावशेष हटाएर खोजी सुरु गरे।
टोलीले झ्याल फोडेर भग्नावशेषभित्र प्रवेश गर्यो। घिस्रिँदै अगाडि बढिरहेको सुरक्षाकर्मीलाई देखेपछि चण्डिकाले थप आवाज निकालिन्। त्यसपछि लेदो र भग्नावशेष पन्छाउँदै उनलाई अर्धचेत अवस्थामा जीवितै बाहिर निकालियो।
उद्धारपछि घटनास्थलमै प्राथमिक उपचार गरिएको थियो। त्यसपछि हेलिकप्टरमार्फत उनलाई त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक हुँदै काठमाडौं ल्याइयो र छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ।
चण्डिका जीवितै भेटिएको खबर पाएपछि मृत्यु संस्कार गरिरहेका परिवारका सदस्यहरू काजकिरिया रोकेर अस्पताल पुगेका छन्। छोरीको फोन र सामाजिक सञ्जालमार्फत खबर पाएपछि उनीहरू तत्काल काठमाडौं आएका हुन्।
परिवारका एक सदस्यले चण्डिका हराएपछि श्रीमान् आनन्दलाल श्रेष्ठसहित परिवारका अन्य सदस्यको समेत अवस्था अज्ञात रहेको बताएका छन्। उनीहरूले सुरक्षा निकायसँग घर तथा आसपासको भग्नावशेषमा अझै खोजी गरिदिन आग्रह गरेका छन्।
मृत्यु भइसकेको ठानेर अन्तिम संस्कार सुरु गरिएको अवस्थामा ११औँ दिन जीवितै उद्धार हुनुले परिवारमा शोकलाई एकाएक खुसीमा बदलिदिएको छ। बाढीपछि बेपत्ता भएकाहरूको अवस्था अझै यकिन हुन नसकेको अवस्थामा चण्डिकाको उद्धारले आशाको एउटा नयाँ सन्देशसमेत दिएको छ।
यसैबीच, शनिबार नेपाली सेनाले रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक चिनियाँ नागरिकलाई पनि जीवितै उद्धार गरेको छ। चिनियाँ उद्धार टोलीको समेत सहयोगमा सुरुङको करिब २२५ मिटरभित्रबाट लुहाईतो नाम गरेका चिनियाँ नागरिकलाई उद्धार गरिएको हो। उनको पनि सैनिक अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।