काठमाडौं– दक्षिण अमेरिकी देश बोलिभियाको पश्चिमी शहर वियाचामा रहेको एक सैन्य अड्डामा शुक्रबार शक्तिशाली विस्फोट हुँदा १० भन्दा बढी मानिसको मृत्यु भएको छ।
घटनामा कम्तीमा ५८ जना घाइते भएका छन्। घाइतेमध्ये १४ जनालाई थप उपचारका लागि प्रशासनिक राजधानी ला पाजका अस्पतालमा पठाइएको छ। तीमध्ये एक बालिका पनि छन्, जसको शरीर करिब ९० प्रतिशत जलेको बताइएको छ।
वियाचा बोलिभियाको प्रशासनिक राजधानी ला पाजबाट करिब ३० किलोमिटर दक्षिणपश्चिममा पर्छ।
विस्फोटका कारण आसपासका कैयौं घरमा समेत क्षति पुगेको छ भने घरका झ्यालहरू फुटेका छन्। बोलिभियाका रक्षामन्त्री अर्नेस्टो जस्टिनियानोका अनुसार घाइतेमध्ये अधिकांश ५२ जना सर्वसाधारण छन् भने बाँकी सैन्यकर्मी हुन्। स्थानीय समयअनुसार दिउँसो करिब २:३० बजे रक्षा मन्त्रालयले पटाका भण्डारण गर्ने स्थानमा विस्फोट भएको उनले बताए।
विस्फोटपछि घटनास्थलमा एम्बुलेन्स, चिकित्सकीय टोली र प्रहरी परिचालन गरिएको छ। विस्फोटको कारण पत्ता लगाउन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्।
घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा सैन्य अड्डाबाट बाक्लो कालो धुवाँको मुस्लो उठिरहेको देखिएको छ। विस्फोट भएको सैन्य अड्डा वियाचा शहरको बीच भागमा रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।