सुर्खेत– हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरणको हुम्लास्थित हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो। विद्युत् आपूर्ति बन्द हुँदा हुम्लाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन्।
हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को गभर्नर कन्ट्रोलमा समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द भएको हो। त्यहाँ उपलब्ध प्राबिधिक जनशक्तिबाट तत्काल समस्या समाधान हुन नसकेकाले भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म वितरण केन्द्रबाट वितरित विद्युत् सेवा सम्पूर्ण क्षेत्रमा अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ।
विद्युत् सेवा अवरुद्ध हुँदा हुम्लाका सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम, व्यवसाय तथा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ।
लामो समयसम्म विद्युत् नहुँदा मोबाइल चार्ज गर्नदेखि इन्टरनेट तथा विद्युतीय उपकरण सञ्चालनमा समेत समस्या भएको स्थानीयको भनाइ छ। तत्काल विद्युत् आपूर्ति सुचारु गर्न वैकल्पिक व्यवस्था अपनाउनुपर्ने र यस्तो समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने स्थानीयको माग छ।
यसैबिच पूर्व मुख्यमन्त्री एवं प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले हुम्लामा विद्युत् आपूर्ति तत्काल सुचारु गर्न संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। शाहीले सामाजिक सञ्जालमार्फत पावर हाउसमा देखिएको समस्या समाधान नभएसम्म हुम्लामा रहेको डिजेल प्लान्ट तत्काल सञ्चालनमा ल्याई विद्युत् उत्पादन तथा आपूर्ति सुचारु गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
उनले विद्युत् सेवा सञ्चालनका लागि आवश्यक दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्। शाहीले दुर्गम हिमाली जिल्लाका नागरिकलाई पनि अन्य नागरिकसरह आधारभूत सेवा सुविधा प्राप्त गर्ने अधिकार रहेको बताएका छन्। ‘हुम्ली जनता पनि यही राज्यका नागरिक हुन्। हुम्लाका नागरिकलाई पनि उज्यालोमा बस्ने समान अधिकार छ,’ शाहीले भने,‘राज्यले हिमाली दुर्गम भूगोलमा बसोबास गर्ने नागरिकलाई आधारभूत सेवा सुविधाबाट वञ्चित गरिरहन मिल्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।