काठमाडौं– नेपाली टेनिस स्टार संरक्षकभूषण बज्राचार्य यतिबेला अन्तर्राष्ट्रिय टेनिसका लागि उर्बर मानिएको अस्ट्रेलियामा आफ्नो खेलको परीक्षा दिइरहेका छन्। अस्ट्रेलियाको मेलबर्नबाट सुरु हुने वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनभन्दा अगाडि उनी अहिले अस्ट्रेलियाका विभिन्न सहरमा जुनियर सर्किट प्रतियोगितामा संलग्न छन्।
जुनियर सर्किटबाट छानिएका २० खेलाडीलाई अस्ट्रेलियन ग्रान्डस्लामको जुनियर प्रतियोगिताका लागि छनोट खेल खेल्न ‘वाइल्ड कार्ड’ प्रदान गर्ने नियम छ।
त्यसैले जुनियर सर्किट प्रतियोगिता खेल्न विश्वभरिका उत्कृष्ट जुनियर खेलाडी अस्ट्रेलियामा जम्मा हुने गरेका हुन्।
यसपालि १६ वर्षीय संरक्षकभूषण अस्ट्रेलियामै बसोबास गर्ने चिकित्सक उमेशलाल सिन्याको निमन्त्रणामा यसै महिना उता लागेका हुन्। उनले सर्किट प्रतियोगिताअन्तर्गत विभिन्न ठाउँमा भएको खेलमा राम्रो प्रदर्शन पनि गरेका छन्।
‘उसको खेलमा धेरै निखार आएको छ। ४ महिना लगातार खेल्न पायो भने आफ्नो उमेर समूहमा अन्तिम १६ भित्र पर्न सक्छ,’ संरक्षकभूषणका प्रशिक्षकसमेत रहेका उनका बुबा सूर्यभूषण बज्राचार्यले नेपाल लाइभलाई टेलिफोनबाट जानकारी दिए।

अस्ट्रेलियामा बुबा एवं प्रशिक्षक सूर्यभूषणसँग संरक्षकभूषण
नेपालमा क्लेकार्टमा खेल्ने बानी भएकाले अस्ट्रेलियामा हार्डकोर्टमा खेल्न संरक्षकलाई केही गाह्रो भएको प्रशिक्षक सूर्यभूषण बताउँछन्। ‘नेपालमा खेल्नेभन्दा बल अलिक ठूलो छ। त्यही भएर स्पिन गराउन केही असहज महसुस भएको छ। तर, बिस्तारै अनुभव बटुल्दै छ,’ सूर्यभूषण भन्छन्।
सर्किट प्रतियोगितामा भाग लिनुपूर्व संरक्षकको कुनै बरियता थिएन। तर, उनले अस्ट्रेलियाका बरियताप्राप्त खेलाडीलाई पराजित गरेका छन्। उनी सर्किट प्रतियोगिता अन्तर्गत क्विन्सल्यान्डको सोपार्टमा सेप्टेम्बर २५ देखि २८ तारिखसम्म भएको खेलमा क्वार्टरफाइनल पुगेका थिए।
यस्तै, विन्ली जुनियर ओपनमा पनि उनी क्वार्टरफाइनलको मुख्य खेल तालिकासम्म पुगेका थिए। अघिल्ला दुई दिन लगातार वर्षा भएपछि उनी आफ्ना अन्य प्रतिद्वन्द्वीसँग अंक बाड्न बाध्य भएको सूर्यभूषणले जानकारी दिए।
उनी विन्लीमै भइरहेको अस्ट्रेलियन मनी टुर्नामेन्ट (एएमटी) को तेस्रो चरणमा प्रवेश गरेका छन्। गत साता मात्र ब्रिसबनको जुनियर कलेजका विद्यार्थीसँग पनि उनले खेल्ने मौका पाएका थिए। टेनिसमा ब्रिसबन कलेजका जुनियर विद्यार्थीको छुट्टै धाक छ। यही कलेजबाट थुप्रै विद्यार्थी ग्रान्डस्लाम खेल्न जान्छन्।

‘उसले एउटा मैत्रीपूर्ण खेलमा कलेजको ४ नम्बर बरियताको खेलाडीलाई पराजित गरेको थियो,’ सूर्यभूषणले भने। संरमक्षकले सन् २०१४ मा कतारमा भएको एसियन जुनियर ओपन टिम कपमा कास्य जितेका थए। उनलाई एसियन टेनिस महासंघले छात्रवृत्ति पनि प्रदान गरिसकेको छ। जुनियर भए पनि उनी नेपालका नम्बर एक खेलाडी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।