काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त बनेको सडक र अत्यावश्यक संरचना निर्माणमा तत्काल ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री बालेन्द्र शाहले सडक बोर्डले आपतकालीन रूपमा ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
उनका अनुसार क्षतिग्रस्त पूर्वाधारको विवरण हेलिकप्टर र पैदलमार्फत संकलन भइरहेको छ। सडक मर्मतका लागि ५० जना प्राविधिक कर्मचारी परिचालन गरिएको पनि उनले जानकारी दिए । यस्तै, मुग्लिन–नारायणगढ सडकको कृष्णभीर खण्ड भदौभित्रै मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
भोटेकोशी बाढीका कारण गल्छी–वेत्रावती–रसुवागढी सडकसहित पृथ्वी राजमार्ग र विभिन्न स्थानका पुल तथा सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा ३१ वटा मोटरेबल पुल बगेको र भने ४८ वटा झोलुंगे पुलमा क्षति पुगेको जानकारी दिए ।
गल्छी–वेत्रावती–रसुवागढी सडकको ८२ किलोमिटर क्षेत्रमा क्षति पुगेको छ। त्यसमध्ये बिदुर–वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी खण्डको ४० किलोमिटर सडक पूर्णरूपमा र १६ किलोमिटर आंशिक क्षतिग्रस्त भएको छ। पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर क्षेत्रमा समेत क्षति पुगेको छ।
हाल पृथ्वी राजमार्गको गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुङ्गे र गलौदी क्षेत्रमा लेदो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ। गल्छी–देवीघाट सडकखण्डमा लेदो हटाउने तथा बेलिब्रिज निर्माणको काम भइरहेको छ। तादी–देवीघाट र बेत्रावतीमा बेलिब्रिज राख्ने काम अघि बढाइएको छ।
बगेका मोटरेबल पुलमध्ये तीन स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ भने थप २० स्थानमा सम्भाव्यता अध्ययन भइरहेको छ। ४८ झोलुंगे पुलमध्ये २० वटा मर्मत गर्न सकिने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने प्रारम्भिक आकलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।