काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीपछि मकवानपुर जिल्लाको हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट तथा समय निर्धारण गरिएको छ।
नेपाल प्रहरीका अनुसार १० चक्कासम्मका मालबाहक तथा ठूला यात्रुबाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्ने व्यवस्था गरिएको छ।
कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुबाहक सवारी साधनले साँझ ६ बजेभित्र मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।
त्यस्तै, १४ सिटभन्दा कम क्षमताका साना यात्रुबाहक सवारी साधनलाई हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदी र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्न व्यवस्था गरिएको छ।
मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालबाहक सवारी साधनलाई उक्त पुल प्रयोग नगरी छेउमा रहेको डाइभर्सनबाट जान प्रहरीले आग्रह गरेको छ।
विपद्जन्य अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, राजमार्गमा आफ्नो पालोमा धैर्य र अनुशासनपूर्वक सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रहरीले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।