काठमाडौं– भोटेकोशी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्या फार्माल्यावले नेपाल सरकारलाई ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरको औषधि सहयोग गरेको छ।
विपद्का कारण प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र स्वास्थ्य उपचारमा आवश्यक सहयोग पुर्याउने उद्देश्यले कम्पनीले विभिन्न प्रकारका आवश्यक औषधि उपलब्ध गराएको हो। कम्पनीका अनुसार प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत औषधि प्रभावित नागरिकसम्म पुर्याइनेछ।
बाढी तथा पहिरोका कारण स्वास्थ्य संस्था तथा नियमित स्वास्थ्य सेवा प्रभावित भएका क्षेत्रमा औषधिको अभाव हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै कम्पनीले स्वास्थ्य उपचारमा आवश्यक पर्ने औषधि उपलब्ध गराएको जनाएको छ। यसबाट प्रभावित समुदायमा तत्काल आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।

कम्पनीले प्रभावित नागरिकको स्वास्थ्य उपचारका लागि थप सहयोग आवश्यक परेको अवस्थामा उपचारमा प्रयोग हुने आवश्यक उपकरण तथा औषधिसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। आवश्यकता पहिचानका आधारमा आगामी दिनमा समेत स्वास्थ्यसम्बन्धी सहयोगलाई निरन्तरता दिने कम्पनीको भनाइ छ।

विपद्को समयमा प्रभावित नागरिकलाई औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु अत्यावश्यक रहेको भन्दै आर्या फार्माल्यावले आफ्नो सहयोगबाट स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।

कम्पनीले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिक र परिवारप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर सहयोग गरेको जनाएको छ। विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका क्रममा आवश्यक स्वास्थ्य सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धतासमेत कम्पनीले व्यक्त गरेको छ।

आर्या फार्माल्यावका अनुसार विपद्को कठिन अवस्थामा स्वास्थ्य क्षेत्रमा गरिएको यस्तो सहयोगले प्रभावित नागरिकको उपचारमा सहजता ल्याउनुका साथै राहत तथा पुनःस्थापनाका प्रयासमा समेत योगदान पुर्याउनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।