काठमाडौं– ढुवानीका क्रममा हुने तेल चुहावट रोक्न नेपाल आयल निगमले सबै ट्यांकरमा सुरक्षित ताला प्रणाली ‘लकिङ’ फिट गरेको छ। निगमका निमित्त प्रबन्ध निर्देशक सुशील भट्टराईका अनुसार बुधबारसम्ममा १ हजार ९ सय ट्यांकरमा यस्तो लकिङ फिट गरिएको छ।
_x000D_
_x000D_
निगमले बुधवार अल्लाहवाद ‘टर्मिनल’बाट तेल ढुवानी गर्ने ट्यांकररमा लकिङ फिट गरेसँगै भारतीय आयल निगमका डिपोबाट नेपाल आयल निगमको डिपोसम्म तेल ढुवानी गर्ने ट्यांकरमा ताला लगाउने काम सकिएको छ।
_x000D_
_x000D_
नेपाल आयल निगमले भारतीय आयल निगमका बरौनी, रक्सौल, बेतालपुर, मुगलसरा, गोन्डा, अलाहवाद र बन्थरा डिपोबाट तेल आपूर्ति गर्छ। ‘ती सबै डिपोबाट तेल ढुवानी गर्ने ट्यांकरमा ताला लगाइएको छ,’ निगमका निमित्त कार्यकारी प्रमुख भट्टराईले भने।
_x000D_
_x000D_
आयल निगमले फिट गरेका ती ताला भारत सरकारले उपलब्ध गराएको थियो। भारतीय आयल निगमले २ हजार २ सय ताला नेपाल आयल निगमलाई प्रदान गरेको थियो।
_x000D_
_x000D_
पहिलो चरणको ताला लगाउने काम सकिएसँगै अब दोस्रो चरणको काम सुरु हुने उनले बताए। ‘कतिपय ट्यांकरले त आफैं पनि ताला लगाउन थालेका छन्,’ निगमका निमित्त कार्यकारी प्रमुख भट्टराईले भने।
_x000D_
_x000D_
निगमले ‘सुरक्षित लकिङ प्रणाली’ सम्बन्धी कार्यविधि यसअघि नै जारी गरिसकेको छ। सोही कार्यविधिले तोकेको अनुसार ट्यांकर धनी आफैंले पनि आफ्नो गाडीमा ताला लगाउन सक्ने निगम बताउँछ।
_x000D_
_x000D_
दोस्रो चरणमा निगमको डिपोबाट पेट्रोल पम्पसम्म पुग्ने ट्यांकरका लागि ताला लगाउन लागिएको हो। दोस्रो चरणका लागि करिब १० हजार ताला आवश्यक पर्ने निगमको भनाइ छ। एउटै ट्यांकरले धेरै बिक्रेताका लागि तेल ढुवानी गर्ने र त्यसका लागि छुट्टाछुट्टै ताला आवश्यक पर्ने भएकाले उक्त संख्या ठूलो हुने निगम बताउँछ।
_x000D_
_x000D_
ट्यांकरमा ताला लगाएपछि त्यसको एउटा साँचो निगमसँग हुनेछ। तेल ढुवानी गरेर हिँडेपछि एकैपटक सम्बन्धित पम्पमा मात्र ताला खोल्न मिल्ने भएकाले बीचमा अपचलन हुने सम्भावना रहँदैन।
_x000D_
_x000D_
आगामी माघभित्र दोस्रो चरणको ताला फिट गरिसक्ने दाबी भट्टराईले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।