काठमाडौँ– भोटेकोशीलगायतका नदी बेसिनमा आएको विनाशकारी बाढीको पृष्ठभूमिमा प्रमुख ८ राजनीतिक दलले सीमापार रहेका हिमतालहरूको जोखिम न्यूनीकरणका लागि चीनसँग तत्काल कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबारको सर्वदलीय बैठकपछि जारी संयुक्त वक्तव्यमा जलवायु परिवर्तनका कारण नेपाल र चीनको तिब्बत क्षेत्रमा रहेका हिमतालहरू पग्लिने र विष्फोट हुने उच्च जोखिममा रहेकाले दुवै देशको 'संयुक्त वैज्ञानिक तथा प्राविधिक अध्ययन संयन्त्र' गठन गर्न माग गरिएको छ।
भविष्यमा हुन सक्ने अझ ठूला विपत्ति रोक्न नेपालभित्रका जोखिमपूर्ण हिमतालहरूको नक्साङ्कन र सीमापार क्षेत्रको जोखिम आकलन गर्न यस्तो पहल अनिवार्य भएको दलहरूको ठहर छ।
सो वक्तव्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृती पार्टीका ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका चन्दन सिंहले हस्ताक्षर गरेका छन् ।
दलहरूले तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित राख्न दुई देशबीच पूर्वसूचना प्रणालीको ‘रियल टाइम डाटा’ आदानप्रदानलाई सुदृढ र संस्थागत गर्न समेत सरकारलाई विशेष सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।