काठमाडौं– जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान भोटेकोशी, त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीसम्बन्धी विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले तयार पारेको ‘२०८३ भोटेकोशी–त्रिशूली–नारायणी बाढीसम्बन्धी प्राविधिक प्रतिवेदन’ले बाढीको यात्रा, बहावको आकार, पूर्वसूचना प्रणाली र बाँकी जोखिमको विस्तृत चित्र प्रस्तुत गरेको हो।
तिब्बततर्फबाट भोटेकोशी नदीमा प्रवेश गरेको बाढी करिब ६ घण्टामै रसुवा, नुवाकोट, धादिङ र चितवन हुँदै देवघाटसम्म पुगेको सरकारी अध्ययनले देखाएको छ। बाढीको मूल लहरसँगै त्रिशूली–नारायणी नदी प्रणालीबाट सामान्य बहावभन्दा करिब १ करोड ९६ लाख ६५ हजार ६०० घनमिटर अतिरिक्त पानी बगेको प्रारम्भिक प्राविधिक विश्लेषण छ।
प्रतिवेदनअनुसार भदौ १० गते बिहान ९ बजेर ५ मिनेटमा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको थियो। त्यसको १० मिनेटपछि अर्थात् ९ बजेर १५ मिनेटदेखि नै बाढी पूर्वानुमान महाशाखाले जलसतह र बहावको सम्भावित यात्राका आधारमा नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना पठाउन थालेको थियो।
बाढी बिहान १० बजेर २८ मिनेटमा धादिङको गल्छी आसपास, ११ बजेर ५० मिनेटमा मलेखु बजार, दिउँसो १ बजे मुग्लिन र ३ बजेर २० मिनेटमा नारायणी–देवघाट क्षेत्रमा पुगेको प्रतिवेदनमा उल्लेख छ। यसरी भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको समयदेखि देवघाट पुग्दासम्म करिब ६ घण्टा १५ मिनेट लागेको देखिन्छ।
बाढीको यात्रा: ८:३७ को भूकम्पदेखि देवघाटसम्मको टाइमलाइन यस्तो छः
- बिहान ८:३७ बजे: ४.४ रेक्टर स्केलको भूकम्प मापन (खानी तथा भूगर्भ विभाग)।
- बिहान ८:५० बजे: भोटेकोशी स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्यांक प्राप्त हुन बन्द (८:४० को अन्तिम जलसतह १.६२ मिटर, चेतावनी तह: ६ मिटर, खतरा तह: ७ मिटर)।
- बिहान ९:०० बजे: भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना जिल्ला प्रशासन कार्यालय रसुवा र बेत्रावती जलमापन केन्द्रका कर्मचारीमार्फत प्राप्त।
- बिहान ९:१५ – ९:१६ बजे: त्रिशूली तटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउन पहिलो चरणको पूर्वसूचना तथा ६.७९ लाख एसएमएस सम्प्रेषण।
- बिहान ९:२० बजे: बेत्रावती जलमापन केन्द्र बन्द (९:२० को अन्तिम जलसतह ३.५५ मिटर; चेतावनी तह: ४.१ मिटर, खतरा तह: ५ मिटर)।
- बिहान १०:२८ बजे: बाढी धादिङ–गल्छी आसपास पुगेको र पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड तथा त्रिशूली तटीय बस्तीलाई सतर्क रहन पुनः एसएमएस प्रवाह।
- बिहान ११:२६ बजे: फुर्केखोला (मलेखु) जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको।
- बिहान ११:४३ बजे: फुर्के (मलेखु) केन्द्रमा जलसतहले खतराको तह पार गरेको र लगत्तै फुर्के खोला जलमापन केन्द्र पुलसहित बाढीले बगाएको।
- बिहान ११:५० बजे: बाढी मलेखु बजार आसपास पुगेको।
- दिउँसो १३:०० बजे: बाढीले मुग्लिन पार गरेको।
- दिउँसो १३:३५ बजे: चीनतर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेको र जोखिम कायमै रहेको सूचना पुनः सम्प्रेषण।
- दिउँसो १४:१४ बजे: कालीखोला जलमापन केन्द्रमा जलसतहले खतराको तह (१२.१ मिटर) पार गरी उच्चतम १२.३ मिटर पुगेको।
- दिउँसो १५:२० बजे: बाढी नारायणी–देवघाट क्षेत्रमा पुगेको।
- दिउँसो १६:०० बजे: देवघाट जलमापन केन्द्रमा जलसतह उच्चतम बिन्दु ६.५७ मिटर पुगेर घट्न सुरु भएको।
- साँझ १८:३० बजे: देवघाटमा बहाव सामान्य अवस्था (करिब ४ मिटर) मा फर्किएको।
बाढीको तीव्रता यति उच्च थियो कि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहत सञ्चालित विभिन्न ४ वटा जलमापन केन्द्रहरू बाढीले बगाएको छ ।
महाशाखाका अनुसार, रसुवा भोटेकोशी केन्द्र, रसुवा स्याफ्रुबेँसी केन्द्र, नुवाकोट बेत्रावती केन्द्र र धादिङ मलेखु (फुर्के) केन्द्र पुलसहित बगेका हुन् ।
केन्द्रहरू ध्वस्त भएका कारण त्यस क्षेत्रहरूको प्रत्यक्ष जलसतह तथ्याङ्क प्राप्त हुन नसकेको प्रतिवेदनमा जनाइएको छ।
प्राविधिक आँकलनअनुसार देवघाट केन्द्रबाट मात्रै बाढीको अवधिभर करिब २ करोड घनमिटर अतिरिक्त बहाव पार भएको देखिएको छ। महाशाखाले रसुवागढी नाकादेखि नेपाल–भारत सीमासम्मको क्षेत्रलाई अति उच्च जोखिम, उच्च जोखिम र मध्यम जोखिम क्षेत्रका रूपमा नक्सांकन गरी सतर्कता अपनाउन निर्देश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।