काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा आएको आकस्मिक ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
बुधबार एक अपिल जारी गर्दै थापाले भोटेकोसी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन आग्रह गरेका हुन्।
उनले विपद्को अवस्थामा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहतमा केन्द्रित हुन सरकारलाई अनुरोध गरेका छन्।
विपद् व्यवस्थापनका लागि सरकारले अघि बढाउने प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने थापाले बताएका छन्।
उनले कांग्रेसका सम्पूर्ण समिति तथा विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नेता तथा कार्यकर्तालाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न तथा उद्धार र राहत कार्यमा तत्काल जुट्न अपिल गरेका छन्।
“रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको छ,” थापाले भनेका छन्, “यस विपद्को अवस्थामा भोटेकोसी, त्रिशूली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछु।”
थापाले विपद्को समयमा राजनीतिक दलभन्दा माथि उठेर उद्धार, राहत र नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।