काठमाडौं– संघीय संसद राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ। समितिको संयोजकमा रेणु चन्द र सचिवमा सम्झना देवकोटा चयन भएकी छन् ।
राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीको विशेष उपस्थितिमा महिला समन्वय समिति गठन गरिएको हो। समिति गठनसँगै समितिको कार्यविधि–२०८३ पनि पारित गरिएको छ।
राष्ट्रिय सभा नियमावली २०७५ (दोश्रो संशोधन) को नियम २३२ ङ बमोजिम २०८३ जेष्ठ १७ गते गठन भएको यो समितिले संविधान र कानून प्रदत्त महिला अधिकार सुनिश्चित गर्न, लैंगिक समानता र सामाजिक न्यायका लागि प्रभावकारी भूमिका खेल्ने उद्देश्य राखेको छ।
समितिले लैंगिक सवालमा एकीकृत धारणा बनाउने, अध्ययन–अनुसन्धान गर्ने, क्षमता अभिवृद्धि गर्ने तथा संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने लगायतका कार्य गर्नेछ। समिति बढीमा नौ सदस्यीय रहनेछ भने संयोजक र सचिव हरेक वर्ष चयन गरिने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।