काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको आन्तरिक विवाद र नेतृत्वको विषयलाई लिएर अदालत जाने कार्यले पार्टीलाई न्याय नगर्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता चालिसेले पार्टीभित्रको विश्वास गुमाएपछि अदालतको शरणमा जाने शैलीले लोकतान्त्रिक पार्टीलाई कमजोर बनाउने तर्क गरेका छन् ।
‘कांग्रेसको नेता को हो ? अब अदालतले तोक्नुपर्ने ? अधिवेशन रोक्ने निवेदन ? यो सुन्दा र देख्दा हरेक कांग्रेसीको मन बेचैन छ,’ चालिसेले लेखेका छन्, ‘दलको नेताको चयन दलको अधिवेशनले गर्दछ, चाहे त्यो विशेष होस् वा नियमित। दलभित्र विश्वास गुमाउने अनि त्यसपछि अदालत जाने शैलीले पार्टीलाई न्याय गर्दैन।’
उनले कांग्रेसभित्र देखिएको हालको असन्तुष्टि नीति र कार्यक्रमसँग भन्दा पनि व्यक्तिगत राजनीतिक भविष्यसँग बढी सम्बन्धित रहेको उल्लेख गरेका छन् । पार्टीको विधान समयसापेक्ष नभए संशोधन गर्न सकिने तर विधानलाई नै भत्काउने अभ्यास गर्न नहुने उनको भनाइ छ।
विवाद समाधानका लागि प्रवक्ता चालिसेले केही उपायसमेत सुझाएका छन् । उनले विधानले दिएको अधिकार प्रयोग गरेर केन्द्रीय समिति विस्तार गर्ने, क्रियाशील सदस्यता व्यवस्थापनमा सबै पक्षको सहभागिता र विश्वास हुने समिति बनाउने, निर्वाचनप्रति आशंका भए पारदर्शी विधि र विश्वसनीय निर्वाचन समिति तय गर्ने र आपसी सहमतिमा महाधिवेशनको वातावरण बनाउने उपाए सुझाएका हुन् ।
अहिलेको समस्याको समधान महाधिवेशन रोक्नु नभई महाधिवेशनलाई विश्वसनीय बनाउनु भएको प्रवक्ता चालिसेको भनाइ छ । ‘नेतृत्वप्रति असहमति छ भने महाधिवेशनमा जाऔँ, त्यहीँ विकल्प प्रस्तुत गरौँ र कार्यकर्ताको मत मागौँ,’ प्रवक्ता चालिसेले लेखेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।