काठमाडौँ – प्रतिनिधिसभाको भदौ १५ देखि ३० गतेसम्मको पाक्षिक कार्यतालिका स्वीकृत भएको छ।
सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी पाक्षिक अवधिको कार्यतालिका स्वीकृत गरेको हो।
सभामुख अर्यालको सचिवालयका अनुसार संसद्को कामकारबाहीलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यले कार्यतालिका तयार गरिएको हो। बैठकमा सदनमा विचाराधीन विषयलाई प्राथमिकताका आधारमा अघि बढाउने विषयमा समेत छलफल भएको थियो।
स्वीकृत कार्यतालिकाअनुसार प्रतिनिधिसभाको बैठक भदौ १५, १६, १७, २२, २३ र २४ गते बस्नेछ। निर्धारित दिनमा सदनका नियमित कामकारबाहीसँगै विचाराधीन विषयलाई प्राथमिकताका साथ अघि बढाइनेछ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को बैठक नियमित र मर्यादित ढङ्गले सञ्चालन गर्ने विषयमा पनि छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
त्यसैगरी, महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयलाई प्राथमिकताका साथ सदनमा अघि बढाउने र संसदीय कामकारबाहीलाई थप व्यवस्थित बनाउने विषयमा समितिका सदस्यहरूले धारणा राखेका थिए।
समितिले संसद्को कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै निर्धारित कार्यतालिकाअनुसार सदनका काम अघि बढाउने गरी पाक्षिक क्यालेन्डर स्वीकृत गरेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।