काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले राज्यले गरिब, निमुखा र कमजोर वर्गको संरक्षण गर्नुपर्ने बताएका छन्।
शनिबार पार्टीद्वारा काठमाडौँमा आयोजित युवा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले वर्तमान राज्य व्यवस्था र बजेटको स्वरूपमाथि गम्भीर प्रश्न उठाएका हुन्।
बजेट वामपन्थी विचारधारा अनुकूल नभएको र यसले गरिब जनताको हित संरक्षण गर्न नसकेको टिप्पणी गर्दै उनले आम नागरिकमा आशा जगाउन नसकेको उल्लेख गरे । आफ्नो पार्टीले गर्ने राजनीति र आन्दोलन सधैँ कमजोर र उपेक्षित वर्गकै अधिकारका लागि लक्षित हुने उनले स्पष्ट पारेका छन्।
राज्यको उत्पत्ति र सामाजिक करारको सिद्धान्तबारे चर्चा गर्दै अध्यक्ष परियारले राज्य केही टाठा बाठा वा षड्यन्त्रकारीहरूको मात्र हुन नसक्ने उल्लेख गरे। महिला र विपन्न नागरिकको सुरक्षा तथा संरक्षण गर्न नसक्ने राज्यको औचित्यमाथि प्रश्न उठाउँदै उनले १५ औँ–१६औँ शताब्दीको प्रबुद्ध युगदेखि परिकल्पना गरिएको न्यायपूर्ण राज्य निर्माणका लागि आन्दोलन जारी राख्नुपर्ने आवश्यकता औँल्याए।
बजेट र राज्य प्रणालीप्रति आक्रोश व्यक्त गर्दै परियारले भने, ‘हाकाहाकी यो बजेट वामपन्थीहरूको होइन भनिरहेका छन् । गरिबहरूको बजेट होइन भन्ने महसुस भएको बेला हामी भाग्दैनौँ। हामीले गर्ने आन्दोलन र राजनीति गरिब, ‘निमुखा र कमजोरहरूकै लागि हो।’
एउटी महिला वा गरिबको संरक्षण हुन सक्दैन भने त्यो राज्यसँग सम्झौता गरेर बस्न नसकिने उल्लेख गर्दै उनले थपे, ‘सामाजिक करारको सिद्धान्तअनुसार राज्य नागरिकको संरक्षणका लागि बनेको हो, ‘होइन भने राज्य दादागिरी गर्ने र हिंस्रकहरूकै हो भन्नुपर्यो।’
१५–१६ औँ शताब्दीदेखि बहस गरिएको राज्य यो नभएको भन्दै उनले न्यायपूर्ण राज्य निर्माणका लागि आन्दोलन जारी राख्नुपर्ने स्पष्ट पारे।
युवाहरूलाई राजनीतिक रूपमा सचेत र वैचारिक रूपमा सबल बनाउने उद्देश्यले आयोजित प्रशिक्षण भेलामा बोल्दै अध्यक्ष परियारले समतामूलक समाज निर्माणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।