काठमाडौं– काठमाडौंको बानेश्वर क्षेत्रमा चोरीका गरगहना र नगद चोरी गरी फरार रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चोरी गर्ने, चोरीका सामान खरिद गर्ने तथा बेचबिखनमा संलग्न व्यक्तिहरू रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट सुनका गरगहना र नगद चोरी भएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। त्यस क्रममा प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी उनीहरूको साथबाट विभिन्न गरगहना बरामद गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२७ का ४५ वर्षीय विनोद शाक्य, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का २२ वर्षीय सुविन लिम्बे, मकवानपुरको बागमती गाउँपालिका–७ का २६ वर्षीय सुरज विक, काभ्रेपलाञ्चोकको बनेपा–८ का २६ वर्षीय संजय तामाङ, काठमाडौं महानगरपालिका–१५ का ३५ वर्षीय रवि महर्जन र सोही स्थानका ३६ वर्षीय रविन महर्जन रहेका छन्।
प्रहरीका अनुसार विनोद शाक्य सुनचाँदी पसल सञ्चालक हुन् भने रवि महर्जन चोरीका सामान बेचबिखनमा संलग्न रहेको खुलेको छ। अन्य व्यक्तिहरू चोरीमा संलग्न रहेको प्रहरीको दाबी छ।
प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने सेतो मोतीमाला जडित मोती हार, सुनजस्तो देखिने हसुली माला, मोतीको माला जडित लकेट, सुनको खुकुरी कोट पिन, हरियो माला, मंगलसूत्र, तिलहरी माला, सोलेगढी माला, लक्ष्मी माला, सौली माला, सिम माला, नेकलेस, नवरत्न माला, रातो मंगलसूत्र, गोलो औंठी, चन्द्रमा र बक्स औंठी लगायतका गरगहना बरामद गरेको छ।
घटनामा संलग्न रविन महर्जन र संजय तामाङलाई लागूऔषध तथा चोरीसम्बन्धी कसुरमा प्रहरी वृत्त स्वयंभूको हिरासतमा राखिएको छ। सुविन लिम्बे र सुरज विकलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
अन्य दुई जनामाथि समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ परेकाहरूमाथि चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।