काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ देखिएको बताएकी छिन् ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलगायतका विषयमा आयोगका पदाधिकारीहरूसँग छलफलमा उनले यस्तो बताएकी हुन् ।
कतिपय अवस्थामा कर्मचारीतन्त्रले काम नगरिदिएर अनिर्णयको बन्दी हुनुपर्ने अवस्था रहेको मन्त्री गौतमको भनाइ थियो । ‘भ्रष्टाचार गर्न डराउनुपर्छ तर इमानदार कर्मचारी डराउने अवस्था सिर्जना भयो भने कतिपय अवस्थामा कर्मचारीतन्त्रले काम नगरिदिएर अनिर्णयको बन्दी हुनुपर्ने रहेछ । कर्मचारीतन्त्रमा कतिपय अवस्थामा डिसिजन प्यारालाइसिस देखिन्छ,’ उनले भनिन् ।
उनले अख्तियार संस्था बल त्रास सिर्जना गरेर ‘हामी बलियो छौँ’ भनेर पगरी गुथ्ने संस्था हुन नहुने बताइन् ।
‘निष्पक्षता, व्यावसायिकता, सुशासन कायम गर्नका लागि प्रमाणका आधारमा अभियोजन हुन्छ है भन्ने विश्वास जगाउने संस्था हुन्छ,’ मन्त्री गौतमले भनिन् ।
डिसिजन प्यारालाइसिसले सरकार चल्न नसक्ने अवस्था आउन सक्ने भन्दै अख्तियारले अभियोजन गर्दा तथ्य र प्रमाण जुटाएर अघि बढे संस्थाप्रतिको विश्वास बढ्ने उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।