काठमाडौं– बैंकबाट फोन गरेको भन्दै ‘केवाइसी Update’ गर्न लगाएर ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने, स्क्रिन शेयर गर्न लगाई OTP Code प्राप्त गर्ने वा OTP Code माग्ने र त्यसपछि पीडितको बैंक खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण गरी ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्।
साइबर ब्यूरोले गरेको प्राविधिक विश्लेषणका आधारमा उनीहरूको पहिचान गरी जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा, देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, सोही स्थानका २३ वर्षीय विद्या सागर केवट तथा पर्सा, वीरगञ्ज महानगरपालिका–३ का १९ वर्षीय कुबेर थापा रहेका छन्।
प्रहरीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको नाममा फोन वा ह्वाट्सएपमार्फत केवाइसी अपडेटका लागि OTP माग्ने तथा स्क्रिन शेयर गर्न लगाउने ठगीका घटना बढेकाले यस्ता गतिविधिबाट सचेत रहन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।