काठमाडौं – प्रहरीले झापा, कैलाली, धनकुटा, बाँके र दैलेखका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ।
झापाको बिर्तामोडबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ८३० मिलिग्रामसहित २३ वर्षीय सलिन सेख पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी बुट्टाबारी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मे.८ प ४१०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाह्रदशी गाउँपालिकाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ६४० मिलिग्राम, डिजिटल तराजु र मोबाइलसहित प्रकाश हरिजन, मनिष राजवंशी र फागुलाल राजवंशी पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित अमन चौधरी, जितेन्द्र चौधरी र मिन रावल पक्राउ परेका छन्।
धनकुटाबाट ट्रामाडोल, डाइक्लोमाइन र स्पास्पेनसहित मन कुमार राई र बिजय राई पक्राउ परेका छन्।
यस्तै, बाँकेको नेपालगञ्जबाट १६ वर्षीय किशोर र दैलेखबाट २७ वर्षीय सुरेन्द्र बहादुर शाही ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन्।
पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।