फाइल तस्बिर
काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडकखण्डमा बाढी र पहिरोले यातायात प्रभावित भएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काभ्रे–सिन्धुलीको बीपी राजमार्ग, मकवानपुरको कान्ति लोकपथ, इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रसुवाको पासाङ ल्हामु सडक तथा रुकुम पश्चिम र रुकुम पूर्वका सडकखण्डमा आवागमन प्रभावित भएको छ।
काभ्रेपलाञ्चोक–सिन्धुलीअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधनको आवागमन रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुने व्यवस्था गरिएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इर्कु पहिरोबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध छ। सोही गाउँपालिकाको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्गको अर्को खण्डसमेत बन्द भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने सडकखण्ड त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो आएपछि सडक बन्द भएको छ। रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र भूमे–५ धौलापहिरास्थित मध्यपहाडी लोकमार्गमा पनि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
वर्षाका कारण थप पहिरो तथा बाढीको जोखिम रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्बन्धित निकायको सूचनाअनुसार सावधानी अपनाउन आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।