काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी रुकुमलगायत मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको र जनजीवन प्रभावित भएको विषयमा पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रचण्डले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, घाइतेहरूको उपचार तथा पीडित परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन्।
‘पूर्वी रुकुमलगायत मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध भई यात्रुहरू अलपत्र परेको र जनजीवन प्रभावित भएकोप्रति पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउदछु,’ उनले भने, ‘विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, घाइतेहरूको उपचार तथा पीडित परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु।’
उनले रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे।
अविरल वर्षाका कारण भएको विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।