काठमाडौँ– बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ।
आज बिहान ८ बजेको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा पानीको सतह सतर्कता तहभन्दा तलै छ।
कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामै छ। तर, आगामी दिनमा बहाव तीव्र हुने अनुमान महाशाखाले गरेको छ।
महाशाखाको बुलेटिन अनुसार आज कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेख्य रूपमा बढ्नेछ। कर्णाली नदीको चिसापानी र असाराघाट तथा पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा बहाव बढ्ने देखिएको हो। अन्य प्रमुख नदीहरूमा भने आज पानीको सतह सामान्य मात्र बढ्ने अनुमान छ।
भोलि र पर्सी भने देशभरका प्रायः सबै ठुला नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। तामाकोशी नदीको बुस्ती जलमापन केन्द्रमा बाहेक कोशी, नारायणी, कर्णाली, महाकाली लगायत कन्काई, कमला, बागमती र बबई जलाधार क्षेत्रका सबैजसो स्थानमा पानीको सतह निकै बढ्नेछ।
साना नदीहरूमा आउन सक्ने आकस्मिक बाढीबारे पनि महाशाखाले सचेत गराएको छ। ‘आज सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्नेछ,’ महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। महाशाखाले थप स्पष्ट पार्दै ‘यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको’ जनाएको छ।
नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।