काठमाडौं– नेपाली कांग्रेसको ‘विद्रोही’ पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने दाबी शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गरिएको छ।
पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्वमा रहेको पक्षले यही साउन २९–३१ गते राष्ट्रिय भेला गर्दैछ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. कोइरालाले देउवा साउन २६ गते स्वदेश फर्केर भेलालाई सम्बोधन गर्ने दाबी गरेका छन्।
उनले देउवामाथि राज्यको तर्फबाट धरपकड भए त्यसको विरोध गर्ने बताए। गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा साङ्घातिक आक्रमणमा परी गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री देउवा अहिले श्रीमती आरजु राणासहित हङकङमा छन्।
देउवाले केही दिनअघि विज्ञप्ति जारी गर्दै राज्यको तर्फबाट धरपकड हुन सक्ने आशंका व्यक्त गरेका थिए। यही सन्दर्भमा कोइरालाले भने, ‘उहाँमाथि धरपकड भए हामी विरोध गर्छौँ।’
उक्त पक्षले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दामा पुनरवलोकनको अनुमति प्रदान गरेकोमा स्वागत पनि गरेको छ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको बेञ्चबाट भएको फैसला/आदेशउपर न्यायिक पुनरवलोकन गरिपाऊँ भनी पार्टी सभापति शेरबहादुर देउवाले दिनुभएको निवेदनमा सम्मानित सर्वोच्च अदालतले २०८३ साउन २१ गते पुनरवलोकनको अनुमति प्रदान गरेको छ,’ कोइरालाले भने, ‘अदालतको निर्णयको स्वागत गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।