घोराही– गतवर्ष जिल्लामा नाम चलेको एउटा संस्थामा आवेदन खुला गरियो। घोराही भरतपुर निवासी विवेक खड्काले आफ्नो अनुभवसँग मिल्दोजुल्दो भएको हुँदा आवेदन दिए। पहिलो चरणमा नाम निस्कियो। लिखितमा उत्तीर्ण पनि भए। तर, मौखिकमा प्रश्नकर्ताले उनलाई 'फिल्ड जानुपर्छ तपाईँ सक्नुहुन्न होला' भनेर उनलाई अनुत्तीर्ण पनि गराइदिए। उनले अर्काे ठाउँमा पनि प्रयास गरे। तर, नमीठो भोगाइ पाए।
_x000D_
_x000D_
नेपाली साहित्यमा स्नातकोत्तर विवेक खड्का लामो समय पत्रकारिता गरेका छन्। ‘रेडियो स्वर्गद्वारी’मा कार्यक्रम सञ्चालक र समाचार वाचकका रुपमा उनले १२ वर्ष बिताए। विभिन्न औपचारिक कार्यक्रममा उनी सधैँ एउटा प्रष्ट र धारावाहिक वक्ताका रुपमा प्रस्तुत हुन्छन्।
_x000D_
_x000D_
जुनसुकै क्षेत्रमा पनि आफूलाई खरो रुपमा उतार्न सक्ने उनको क्षमता छ। सरकारी निकायसँग समन्वय गरेर काम गर्ने विभिन्न संघसंस्थामा पनि उनले कामको लामो अनुभव संँगालिसकेका छन्।
_x000D_
_x000D_
आफ्नो एउटा खुट्टामा सामान्य कमजोरी हुँदा उनी लौराको सहायताले हिँड्छन्। समाजमा आफ्नो राम्रो प्रस्तुति देखासकेका खड्कालाई जागिरका लागि धाउँदा क्षमताले होइन शरीरले धोका दिने गरेको छ। पटक पटक अपांगताको कारण देखाउँदै जिम्मेवार व्यक्तिले नै आफ्नो क्षमतालाई ओझेलमा पारेको देख्दा उनलाई दिक्क लागेर आउँछ। ‘अपांगता भए पनि भनसुन गरे जागिर पाइन्छ तर क्षमताकै आधारमा पाउन गाह्रो छ', उनले भने, 'क्षमता र अनुभवको आधारमा पटक पटक जागिर खान खोजेँ तर असफल भएँ।'
_x000D_
_x000D_
जागिरमा क्षमताभन्दा शरीरलाई प्राथमिकता दिँदा उनीजस्ता क्षमतावान् व्यक्ति अवसरबाट वञ्चित हुनुपरेको छ। उनीजस्तै शारीरिक रुपमा अपांगता भएका गाउँपालिका ३ भैरहवाका रामशङ्खर यादवसँग पनि खड्काकै जस्तो अनुभव छ। प्रतिस्पर्धाबाट अन्तिम दुई जनामा परेका यादवलाई अन्तर्वार्ताका क्रममा उस्तै प्रश्न दोहोरियो 'फिल्ड हिँड्नुपर्छ, तपाईँ सक्नुहुन्छ होला र?' भन्ने। अन्त्यमा अवसरबाट वञ्चित गराइयो।
_x000D_
_x000D_
अहिले उनी अपांग मानवअधिकार एवं सरोकार मञ्चमा काम गर्छन्। अन्य स्थानमा कुनै पनि निकायमा कर्मचारी आवश्यकताको विज्ञापन आयो भने उनलाई सितिमिती दरखास्त दिन गाह्रो लाग्छ। शारीरिक अवस्था हेरेर इन्कार गरेको देख्दा मनै भाँचिएर आउने गरेको उनले सुनाए।
_x000D_
_x000D_
जति नै पढेलेखेका वा बुझेका भनिएका व्यक्तिले पनि अवसर दिने विषयमा विभेदको दृष्टि राख्ने गरेको अपांगताका क्षेत्रमा काम गरिरहेका पत्रकार शिव घर्ती बताउँछन्।
_x000D_
_x000D_
अपांग मानवअधिकार एवम् सरोकार मञ्चका कार्यक्रम संयोजक चिन्तामणि पौडेल पनि अवसर दिने समयमा अपांगता भएकाहरूलाई विभेद गरिने गरेको बताउँछन्। अपांगता भएकाहरुसँग पनि क्षमता हुन्छ र उनीहरुले पनि अरुले बराबर काम गर्न सक्छन् भन्ने सोच सबैमा आउन नसकेको उनले बताए।
_x000D_
_x000D_
'अपांगता भएकाहरुको लागि भनिएको हुन्छ तर साँच्चिकै अपांगता भएकाहरुले अवसर पाउँदैनन्, अपांगता भएकाको नाममा अरु नै पुगिरहेका हुन्छन्', उनले भने, 'अपांगता भन्छन् तर सामान्य हातको, खुट्टाको एउटा औँला नभएकाले अवसर पाउँछन् जबकि उनीहरु सबलाङ्ग सरह हुन्छन्।'
_x000D_
_x000D_
उसो त अपांगता भएकाहरुलाई सितिमिती काम र नेतृत्वमा अवसर पाउन मुस्किल छ, त्यसमा पनि सरकारी क्षेत्रबाट हुने विभेदबाट तिनले झन् पीडा महसुस गरिरहेका छन्।
_x000D_
_x000D_
विसं २०६८ को राष्ट्रिय जनगणनालाई आधार मान्दा दाङमा १२ हजार ८ सय ८१ अपांगता भएका व्यक्ति छन् जसमा ६ हजार ८ सय ६० पुरुष र ६ हजार २१ महिला छन्। शारीरिक अपांगता भएकाहरु मात्रै ४ हजार २ सय २९ जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।