चितवनको रत्ननगर यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनको उत्साहले भरिएको छ। देशभरबाट आएका प्रतिनिधि, नेतृत्व चयनको बहस, राजनीतिक प्रस्तावमाथिको छलफल र भविष्यको रोडम्याप तय गर्ने तयारीबीच पार्टी एउटा ऐतिहासिक मोडमा उभिएको छ।
महाधिवेशनस्थलमा हजारौं कार्यकर्ता, नेता र शुभेच्छुकको बाक्लो उपस्थिति छ। सभापति रवि लामिछानेदेखि पार्टीका शीर्ष नेताहरूको सक्रियता देखिन्छ। तर यो सबै चहलपहल र उत्साहबीच एउटा अनुहारको अभाव कार्यकर्ताले महशुस गरिरहेका छन्- डोलप्रसाद (डिपी) अर्याल।
पार्टीका धेरै नेता–कार्यकर्ताका लागि यो महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पहिलो महाधिवेशन भएकाले भावनासँग समेत गाँसिएको छ। त्यही भावनाले संस्थापक नेता तथा वर्तमान सभामुख अर्याललाई सम्झाएको हो।
कर्णाली प्रदेशकी संस्थापक सदस्य अभि सुवेदी आचार्य सभापति रविलामिछाने र पूर्व उपसभापति अर्याललाई राम र लक्ष्मणको संज्ञा दिन्छिन्। पहिलो तथा ऐतिहासिक महाधिवेशनमा उहाँ मञ्चमा नदेख्दा केही खालीपन महशुस भएको उनले बताइन्। उनले भनिन्, ‘म पार्टीमा उहाँसँग कुरा गरेर नै जोडिएकी हुँ । उहाँको कुराबाट प्रभावित भएर कर्णालीमा संगठन बनाएँ। पार्टीलाई यो अवस्थासम्म ल्याउन उहाँले ठूलो भूमिका खेल्नुभएको छ। त्यो नेता परिस्थितिले यहाँ भेट्न नपाउँदा खल्लो महशुस म जस्ता धेरैलाई भएको छ।‘

डीपीलाई रास्वपा वृत्तभित्र धेरैले उनलाई स्नेहपूर्वक ‘आमा’को उपमा दिने गरेको सुदूरपश्चिमबाट आएका एक प्रतिनिधि धर्मराज जोशी बताउँछन्। उनले भने, ‘म सभापति रवि लामिछाने, सचिवालय सदस्य दिपक बोहरासहित उहाँलाई पार्टी खोल्नुभन्दा अघिदेखि चिन्छु । उहाँ पार्टीभित्र पदभन्दा बढी सम्बन्ध, समन्वय र भरोसाको केन्द्रका रूपमा हुनुहुनथ्यो।‘
पार्टीको संस्थापक नेता मञ्चमा नदेखिदा केही न केही खालीपन महशुस भएपनि सभामुख जस्तो सम्मानित पदमा पुगेको कार्यकर्तामा खुशी पनि उत्तिकै देखिन्छ।
महाधिवेशनमा भेटिएका लमजुङका विजय रञ्जन पौडेल भन्छन्, ‘पोखरा होस् वा बुटवल, जहाँ कार्यक्रममा गयो त्यहाँ डिपी सरको मुस्कान र कार्यकर्तालाई उत्साहित बनाउने शैली देखिन्थ्यो। आज उहाँ यहाँ नहुँदा खालीपन महसुस भएको छ।‘
केन्द्रीय प्रवास नेपाली सम्पर्क विभागका सदस्य सागर रिजालका लागि डिपी अर्याल त्यो नेता हुन्, जसलाई विश्वास गरेर उनी दुई दशकको जापान बसाइपछि नेपाल फर्किए।

‘उहाँ र रवि दाइले पार्टी निर्माण गरिरहँदा हामीले एउटा आशा देखेका थियौं। अहिले उहाँ सभामुखको भूमिकामा जानुभएको छ । देशकै अभिभाव हुनुभएको छ तर पार्टीले अभिभावक गुमाएको जस्तो महशुस भइरहेको छ,’ उनी भन्छन्।
केन्द्रीय सहकारी विभाग सदस्य बोधराज रेग्मीको बुझाइमा पनि डिपी अर्याल पार्टी स्थापनादेखिको बलियो खम्बा हुन्। संकटमा पनि उनले पार्टीलाई जोगाएर यहाँसम्म पुर्याएका हुन्। ‘महाधिवेशनको यो ऐतिहासिक अवसरमा उहाँलाई नदेख्दा हामीले धेरै मिस गरिरहेका छौं,’ उनले भने।
अर्यालले हरेक प्रतिकुल समयमा रविलाई साथ दिएका थिए। उनको समर्पणलाई लामिछाने आफैंले पनि पटक-पटक सुनाउने गरेका छन्। यतिबेला चितवनमा उत्साह मात्रै छैन। अन्योल पनि छ । पार्टीमा संख्या बढेको छ। त्यही संख्या व्यवस्थापन सभापति रवि र केन्द्रीय नेतृत्वको लागि टाउको दुखाइ बनेको छ।
त्यस्तो अवस्थामा रविले पार्टीको केन्द्रमा आउने आकांक्षीलाई मिलाउन आफूपछिको परिपक्व व्यक्तिको अभाव पक्कै महशुस गरिरहेको कार्यकर्ताहरु बताउँछन् । ‘सभापतिज्यूलाई शान्त भएर मुस्कान सहित ‘डिल गर्ने डिपी’को कमी रविले महशुस गरेको निकटस्थ बताउँछन् । कार्यकर्ताहरु आफ्नो अपेक्षा रविसम्म पुगेर भन्न धकाइरहेका छन् । उनीसम्म कुरा पुर्याउने डिपी जस्तो व्यक्तित्व अभाव महशुस गरेका छन्।
हरेक संकटका सारथी डीपी
परिआउँदा डीपी कुन हदसम्म साथ दिन सक्छन् भन्ने विषयमा २०८२ साल पुस ६ गते वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा रवि लामिछानेले एउटा प्रसंग सुनाएका थिए। सहकारी ठगी लगायतका मुद्दामा आठ महिना जेल जीवन बिताएर धरौटीमा रिहा भएका रविलाई भेट्न नख्खु कारागार पुगेका अर्यालले त्यतिबेला भनेका थिए, ‘पार्टीको नेतृत्व कार्यवाहकलाई दिन मिलेजस्तै कारागारको बसाइ पनि कार्यवाहकलाई दिन मिल्दैन? यदि मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु। देशलाई अहिले तपाईंको खाँचो छ, तपाईं बाहिर जानुस्।‘
उक्त प्रसंग सुनाउँदा बैठकमा नेताहरु भावुक बनेका थिए। यो व्यक्तिगत मित्रताको प्रसंग मात्रै थिएन, यसले पार्टीभित्र अर्यालले निर्वाह गरेको भूमिकाको गहिराइ पनि दर्शाउँथ्यो।
२०७९ असार ७ गते राष्ट्रिय सभागृहबाट रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दा डिपी अर्याल सवैभन्दा भरपर्दो खम्बा थिए। रास्वपा स्थापनाको पाँच महिनामै निर्वाचनमा होमियो र ११ लाखभन्दा बढी लोकप्रिय मतसहित २० सिट जितेर राष्ट्रिय राजनीतिमा हलचल मच्चायो। तर त्यसपछि संकटका शृंखला सुरु भए।
नागरिकता विवाद, राहदानी प्रकरण, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाले पार्टीमाथि लगातार प्रहार भइरह्यो। नागरिकता प्रकरणका कारण रविले सांसद र गृहमन्त्री दुवै पद गुमाएपछि पार्टी गम्भीर संकटमा पर्यो।

त्यतिबेला श्रममन्त्री रहेका अर्यालले नेतृत्वसँगै पार्टीलाई सम्हाले। चितवन–२ को उपनिर्वाचनमार्फत रवि पुनः राजनीतिमा फर्किए। त्यसपछि पनि राजनीतिक उतारचढाव रोकिएन। त्यस्तो समयमा खम्बा बनेर उभिएको लमजुङबाट आएका विजय रञ्जन पौडेल बताउँछन्।
‘म राष्ट्रिय स्वतन्त्र पार्टीमा आएदेखि पार्टीमा धेरै उतारचढाव आए। ती उतारचढावका बीच, पार्टी सभापति रवि लामिछाने जेल जानुपरेको अवस्थादेखि लिएर स्थापना कालका नेताहरूले दुःख गरेको समयसम्म, डिपी अर्यालले धेरै नै मेहनत गर्नुभएको छ। उहाँले पार्टीलाई दिनुभएको उत्साह, मुस्कुराएर साथीहरूलाई हौसला दिने शैली र सकारात्मक ऊर्जा आज पनि सम्झनामा ताजै छ,’ उनले भने।
जब सहकारी प्रकरणमा रवि पक्राउ परे र पछि आठ महिना जेल जीवन बिताउन बाध्य भए, पार्टीको यस्ता कठीन समयमा कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्यालको काँधमा थियो। त्यो उनले सुझबुझ ढंले निर्वाह गरेको उनी बताउँछन्।
रवि जेलमा हुँदा पार्टी कमजोर बन्दै गएको थियो। संसद्, सडक र सामाजिक सञ्जालमा पार्टीको बचाउ गर्नु चुनौतीपूर्ण बनेको थियो। तर त्यही बेला अर्यालले कार्यवाहक सभापति बने। रास्वपाले सरकारमाथि राजनीतिक पूर्वाग्रह र प्रतिशोधको आरोप लगाउँदै सडक र सदन दुवै मोर्चामा प्रतिरोध गर्यो। रविका अर्का सहयात्री नेता दिपक बोहरालाई अघि सारेर देशव्यापी हस्ताक्षर अभियान चलाइयो। कार्यकर्तालाई सक्रिय राखियो। संगठनलाई विखण्डन हुन दिइएन।
पार्टीभित्रका नेताहरूका अनुसार त्यतिबेला अर्यालको मुख्य शक्ति उनको संयम थियो। त्यही संयमताले पार्टीका धेरै नेता-कार्यकर्तालाई विचलित हुन नदिएको कर्णालीकी प्रतिनिधि आचार्य बताउँछन्।
रास्वपाभित्र एउटा साझा धारणा छ, रवि लामिछानेसम्म पुग्न सबैलाई सहज लाग्दैन। उनको लोकप्रियता, व्यस्तता र नेतृत्वको शैलीका कारण धेरै कार्यकर्ताले आफ्ना गुनासा वा सुझाव प्रत्यक्ष राख्न सक्दैनन्। त्यस्तो अवस्थामा डिपी अर्याल नै सबैभन्दा सहज माध्यम थिए।
‘रविदाइसम्म पुग्न धक लाग्थ्यो। डिपी सरसँग भने खुलेर कुरा गर्न सकिन्थ्यो,’ उनले भनिन्। म उहाँसँग कुरा गरेर पार्टीमा आएँ। र पछि पनि उहाँसँगै धेरै कुरा भयो,’ उनले महाधिवेशनस्थलमा भनिन्।
पार्टी मिलाउन त्यागेको अवसर
निर्वाचनपछि रास्वपा नेतृत्वको सरकार गठन हुँदा डिपी अर्याल कार्यकारी भूमिकामै रहने सरकारमा सहभागी हुने धेरैले बुझेका थिए। उनी गृहमन्त्री बन्ने चर्चासमेत चलेको थियो। विशेषगरी कठिन परिस्थितिमा पार्टीलाई जोगाएका उनलाई संगठन बलियो बनाउन र सरकारमा समन्वयकारि व्यक्तित्व लैजान उनले चाहेका थिए।
तर, पार्टीमा विभिन्न अभियानबाट आएका नेता मिलाउने कुरामा फेरि रविले एकपल्ट डीपीलाई ब्याक गर्नुपर्यो। रविको सट्टा जेल समेत जान तयार डीपीका लागि यो सामान्य त्याग थियो। । पार्टी नेताहरुलाई अप्ठ्यारो नपारी उनी प्रतिनिधिसभाको सभामुख बन्न राजी भए।
सभामुख बनेसँगै भने उनी सक्रिय दलीय राजनीतिबाट अलग भए। संवैधानिक व्यवस्थाअनुसार सभामुख दलभन्दा माथिको भूमिका भएकाले उनी पार्टी महाधिवेशनमा सहभागी हुन पाउँदैनन्। यही कारण रास्वपाको पहिलो महाधिवेशनमा उनी अनुपस्थित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।