चितवन– रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ स्थित देवघाट जङ्गलमा आइतबार रातिसम्म ती शवको व्यवस्थापन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म २७२ शव फेला परेका छन्। तीमध्ये १२ शवको सनाखत भएको छ भने १९९ शवको व्यवस्थापन गरिएको छ।
हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ अन्य अर्थात् अवशेष रहेका छन्। सनाखत हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राखेर जङ्गलमा व्यवस्थापन गरिएको पौडेलले बताए। सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन्।
बेपत्ता व्यक्तिका परिवारसँग डीएनए परीक्षण मिलेको अवस्थामा व्यवस्थापन गरिएका शव निकालेर परिवारलाई दिन सकिने गरी सङ्केत चिह्न राखिएको पनि पौडेलले बताए।
नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापन कार्यमा परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।