बर्दिबास- तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरीका बस्तीहरुमा माटाका भाँडाको बिक्री बढेको छ।
दीपावली र छठ पर्वमा दियो, गाग्रा, कलश, दही जमाउने छ्याँची र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्परा रहेकाले स्थानीय बजारमा माटाका भाँडाको बिक्री बढेको हो।
जिल्लाको सुदूर उत्तरवर्ती मुख्य व्यापारिक केन्द्र बर्दिबासको मुख्य चोक र हटियामा अहिले २० वटाभन्दा बढी माटोका भाँडा पसल थापिएका बर्दिबास व्यापार संघका महासचिव भवनाथ खतिवडाले बताए।
भाँडा बिक्री भएसँगै तिहार र छठ पर्वका लागि आफूहरुलाई खर्च जोहो हुने गरेको माटाको भाँडा बनाउने कुम्हालहरुले बताएका छन् । जिल्लाका बर्दिबास, औरही, सीतापुर, रामगोपालपुर, गौशाला, सम्सी र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरमा माटाका भाँडाका स्थायी कक्ष नै राखिएका छन्।
तिहार र छठ पर्वका अवसरमा महोत्तरीका बजारमा २५ लाख रुपैयाँको हाराहारीमा माटाका भाँडाको कारोबार हुने महोत्तरी उद्योग वाणिज्य संघका पदाधिकारीको अनुमान छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।