म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी उत्कृष्ट लयमा देखिएको छ । लिगमा अपराजित रहेर शीर्ष स्थानमा रहेको सिटीले पछिल्ला ५ खेलमा २४ गोल गरिसकेको छ।
सिटीले पछिल्लोपटक शनिबार राति भएको खेलमा स्टोक सिटीलाई ७–२ गोल अन्तरले पराजित गर्यो । पछिल्ला पाँच खेलमा सिटीले गोल खाएको यो पहिलो पटक हो । घरेलु मैदानमा स्टोक विरुद्ध हाबी देखिएको सिटीका लागि ग्राबियल जेससले २ गोल गर्दा रहिम स्टर्लिङ, डेभिड सिल्भा, फर्डिनान्डो, लिरोए सेन र बेर्नान्डो सिल्भाले १–१ गोल गरे।
यसअघि सिटीले चेल्सीलाई १–० गोलले पराजित गर्दा क्रिस्टल प्यालेसलाई ५–० तथा वाटफोर्डलाई ६–० गोलले हराएको थियो । महराथी क्लब लिभरपुलमाथि पनि हाबी देखिएको सिटीले ५–० ले पराजित गरेर सनसनी मच्चाएको थियो।

लगातार उत्कृष्ट प्रदर्शन गरेपछि प्रशिक्षक पेप ग्वार्डिओलाले टिमको प्रशंसा गरेका छन् । स्टोक विरुद्ध ८३.५ प्रतिशत बल नियन्त्रणमा लिएर ७ गोल गरेपछि प्रशिक्षक पेपले सिटीले अहिलेसम्मकै उत्कृष्ट खेलेको प्रतिक्रिया दिए।
सिटीले सानदार जित हात पारेको दिन चेल्सी र आर्सनल भने पराजित भएका छन् । चेल्सीलाई क्रिस्टल प्यालेसले २–१ तथा आर्सनललाई वाटफोर्डले २–१ गोलले नै पराजित गर्यो । टोटनह्यामले वर्नमाउथलाई १–० ले हरायो।
लिगमा सिटी ८ खेलमा २२ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले २० अंक बटुलेको छ भने टोटनह्याम १७ अंकसहित तेस्रो स्थानमा छ । १५ अंक जोडेको वाटफोर्ड चौथो तथा १३ अंक जोडेको चेल्सी पाँचौं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।