कोलम्बो (एजेन्सी)– पाकिस्तानमा क्रिकेट खेल्ने विषयमा श्रीलंकाले सोमबार अन्तिम निर्णय गर्दैछ। सन् २००९ मा लाहोरमा श्रीलंकाली खेलाडी चढेको बसमाथि आतंकवादी हमला भएपछि श्रीलंकाले पाकिस्तानमा कुनै खेल खेलेको छैन्।
त्यो घटनामा हतियारसहित आएको आतंकवादीको जत्थाले ६ सुरक्षाकर्मी र २ सर्वसाधारणको हत्या गरेको थियो।
श्रीलंकाली क्रिकेट बोर्डका अध्यक्षले नियमले आफूहरु बाँधिएको बताए पनि खेलाडीहरुको चाहनालाई मध्यनजर राखेर आफूहरुले ताजा सुरक्षाअवस्थाको मूल्याङ्कन गर्ने बताएका छन्। श्रीलंका र पाकिस्तानबीचको टि–२० शृंखला २९ अक्टुवरदेखि सुरु हुँदैछ।
बोर्ड अध्यक्ष थिलाङ्गा सुमाथिपालाले बिबिसीलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले सुरक्षाको विषयमा थप आश्वासन चाहेका छौं। यसपछि सोमबार मात्र अन्तिम निस्कर्षमा पुग्न सक्छौं।’
उनले सुरक्षाको विषयमा चित्तबुझ्दो जवाफ पाएको खण्डमा टिमले पाकिस्तानको भ्रमण गर्ने बताए। अन्य खेल युनाईटेड अरब इमिरेट्स(युएई) मा भए पनि टि–२० घरेलु मैदानमै गराउन पाकिस्तानले दबाब सिर्जना गरेको छ। २००९ को घटनापछि पाकिस्तानले आफ्नो भूभागमा हुने प्रायः सबै अन्तर्राष्ट्रिय खेल युएईमा गराउँदै आइरहेको छ।
२०१५ मा जिम्बाबेले ३ एकदिवसीय र २ टि–२० शृंखला खेल्ने क्रममा लाहोर रंगशालाबाहिर आत्मघाती बम बिस्फोट गराइएको थियो। गत सेप्टेम्बरमा पाकिस्तानले कडा सुरक्षा व्यवस्थाका बीच विश्व–११ विरुद्ध ३ टि–२० को शृंखला गराएको थियो। पूर्व इंग्लिस अलराउन्डर पाउल कलिङ्उड, जो विश्व–११ मा सम्मिलित थिए, उनले आफूहरुलाई राष्ट्रपतिलाई दिने सुरक्षा दिएको प्रतिक्रिया दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।