म्याड्रिड– स्पेनिस ला लिगामा बार्सिलोनाको जितको यात्रामा पूर्णविराम लागेको छ।
सिजनमा लगातार ७ खेलमा जित निकालेको बार्सिलोना आठौं खेलमा एट्लेटिको म्याड्रिडसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा साउलले २१ मिनेटमा गोल गरेर एट्लेटिकोलाई अग्रता दिलाए । तर, खेल सकिन ८ मिनेट बाँकी छँदा लुइस सुआरेजले गोल फर्काएर बार्सिलोनाको हार टारे।
लिगको अर्को खेलमा रियल म्याड्रिडले गेटाफेलाई २–१ ले पराजित गर्यो । करिम बेन्जिमाले ३९ मिनेटमा गोल गरेर रियललाई अग्रता दिलाए । ५६ मिनेटमा जोर्गे मोलिनाले बराबरी गोल फर्काए । रोनाल्डोले ८५ मिनेटमा गरेको गोल निर्णायक बनेपछि रियलले जित निकालेको हो । रोनाल्डोले ला लिगामा सिजनको पहिलो गोल गरेका हुन्।

लिगको आठौं चरणको खेल सकिँदा बार्सिलोना २२ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियलको १७ तथा तेस्रो स्थानको एट्लेटिकोको १६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।