काठमाडौँ– सम्पत्ति शुद्धीकरण मुद्दामा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् ।
शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले आज बिहान नियन्त्रणमा लिएको हो ।
शुक्रबार साँझ उनका बुवा एवं शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए। इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा शंकर अग्रवाल पक्राउ परेको पर्सीपल्टै छोरा शुलभलाई पनि पक्राउ गरिएको हो ।
यसअघि बिहीबार व्यवसायी दीपक भट्टलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको थियो ।
अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । करोडौंको शंकास्पद आर्थिक कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले साढे २ वर्षअघि नै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीच भएका वित्तीय कारोबारको अनुसन्धान गर्न विभागलाई पत्र पठाएको थियो ।
त्यसपछि विभागले पुस २०७९ मा भट्टसँग प्रारम्भिक बयान लिएको थियो । तर सामान्य छानबिन मात्रै गरेर विभागले गत वैशाखमा मुद्दा नचलाई राष्ट्र बैंकलाई उजुरी फिर्ता गरिदिएको थियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।