रूपन्देही– कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीसहित तीन जनामाथि सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले नाम परिर्वतित ‘भैरहवा १५’ लाई अध्यक्ष चौधरीसहितले सामुहिक बलात्कार गरेको मुद्दा दर्ता गरेको हो ।
मुद्दा दर्तासँगै गाउँपालिका अध्यक्ष चौधरीको पद धरापमा परेको छ । तर उनले आफू दोषी नरहेकाले कानूनी लडाइँमा जाने बताएका छन् । सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी, कमलेशरण चौधरी र सन्तकुमार यादवलाई सामूहिक बलात्कार मुद्दा दर्ता गरेको छ । मुद्दामा संलग्न रहेको आरोपमा सन्त कुमार यादव भने हाल पूर्वपक्ष (थुनछेक) का लागि रूपन्देही कारागारमा छन् ।
पीडित पक्षका अनुसार, भैरहवा–१५ युवतीले २०८१ असोज ६ गते सामूहिक बलात्कार घटनामा चौधरीहरू र यादवको संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।
पीडितको गोपनीयता भंग गरेको आरोपमा कमलेशरण यसअघि साइबर क्राइम मुद्दामा पक्राउसमेत परेका थिए । तर तत्कालीन सरकारी वलिक कार्यालयले महान्यायधिवक्ताको दबावमा मुद्दा नचलाउने निर्णय गरी उन्मुक्ति दिएका थिए । पूरक जाहेरीमा इलाका प्रहरी कार्यालय बुटवलले मुद्दा दर्ता नगरेको भने पीडित युवतीले जिल्ला अदालतमा रिट दायर गरेपछि अदालतले इप्रका बुटवललाई मुद्दा अघि बढाउन निर्देशन दिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।