काठमाडौँ– सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले सुरक्षाकर्मीको उपस्थिति नागरिकका लागि त्रासको कारण नभई भरोसाको स्रोत बन्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार नयाँ बानेश्वरस्थित पशुपतिनाथ बाहिनी मुख्यालयमा आयोजित २२औँ स्थापना दिवस कार्यक्रममा सम्बोधन गर्दै उनले सुरक्षासम्बन्धी सेवामा नागरिक-केन्द्रित दृष्टिकोण अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार सुरक्षाकर्मीले आफ्नो कार्यशैलीमार्फत नागरिकमा विश्वास बढाउने वातावरण सिर्जना गर्नुपर्छ।
कार्यक्रममा उनले राजधानी क्षेत्र सुरक्षा दृष्टिले संवेदनशील र चुनौतीपूर्ण रहेकाले पशुपतिनाथ बाहिनीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनदेखि लिएर उच्च पदस्थ व्यक्तिहरूको सुरक्षा, महत्त्वपूर्ण संरचनाहरूको संरक्षण तथा विभिन्न सार्वजनिक गतिविधिमा उक्त बाहिनीले प्रभावकारी योगदान दिएको उल्लेख गरे।
उनले मातहतका निकायलाई जिम्मेवारीप्रति प्रतिबद्ध भई नतिजामुखी कार्य सम्पादन गर्न निर्देशनसमेत दिए।
सो अवसरमा बाहिनीका प्रमुख डिआइजी सुरेश श्रेष्ठले संगठनले तोकिएको नीति तथा निर्देशनअनुसार आफ्नो कार्य सञ्चालन गरिरहेको जानकारी दिए। उनका अनुसार उपत्यकामा निर्वाचन सम्पन्न गराउने, सार्वजनिक शान्ति कायम राख्ने तथा बन्द, हडताल र विरोध प्रदर्शनजस्ता गतिविधिमा आवश्यक सुरक्षा व्यवस्थापन गर्न बाहिनी सक्रिय रहँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।