काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले फागनु २१ गते सम्पन्न ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को प्रतिवेदन पेस गरेको छ । शितल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।
राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे । साथै निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद दिए ।
‘फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,’ पौडेलले भने ।
आयोगले औपचारिकरूपमा प्रतिवेदन बुझाएसँगै अब नवनिर्वाचित सांसदहरुको शपथ र सरकार गठनको बाटो खुलेको छ । संसद सचिवालयले चैत १२ गते सांसदहरूको शपथ ग्रहण समारोह आयोजना गरेको छ ।
शपथपश्चात १८२ सीटसहित दुईतिहाइ नजिक पुगेको रास्वपाले एकल सरकार बनाउनेछ । संविधानको धारा ७६ को उपधारा (१) बमोजिम रास्वपाले दलको बैठक बोलाएर संसदीय दलको नेता चयन गरेपछि प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।