काठमाडौं– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचित भएका १ सय १० जना सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र दिइएको छ ।
निर्वाचन आयोगले आयोग परिसरमा एक समारोहको आयोजना गरी समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराएको हो ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नौ, श्रम संस्कृति पार्टीले चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट पाएका छन् ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको अन्तिम परिणामसहितको प्रतिवेदन पनि आजै राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ । समानुपातिकतर्फका नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेलगत्तै आयोगको टोली शीतलनिवास जाने तयारी छ । योसँगै नयाँ सरकार गठनको मार्ग खुल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।