काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज आफ्ना सांसदहरूलाई सम्बोधन गर्दै दिएको मन्तव्यको प्रशंसा गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
भट्टराईले लेखेका छन्, ‘हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सबैले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ । यस सन्दर्भमा पार्टी सभापति रवि लामिछानेद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त विचार निकै सकारात्मक छन् । पहिलो, फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ भन्ने हाम्रो लोकोक्ति राम्रोसँग झल्केको छ । त्यो कायम रहोस् ।’
रास्वपाले पाएको यो प्रचण्ड अभिमत कुनै एउटा पार्टी वा व्यक्तिलाई प्राप्त मतभन्दा समग्र नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश हो भन्ने सोच वस्तुपरक रहेको भट्टराईले बताएका छन् ।
‘त्यसनिम्ति पुराना दल र नेताप्रति प्रतिक्रियात्मक बन्न भन्दा उनीहरूले ऐतिहासिक रूपमा निर्वाह गरेको भूमिकाको सम्मान गर्दै र प्राप्त उपलब्धिको रक्षा गर्दै देशको नयाँ भविष्य निर्माण गर्नुपर्छ भन्ने कुरा ज्यादै अर्थपूर्ण छ’ उनले भनेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।