काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई जनताले दिएको ऐतिहासिक जिम्मेवारीप्रति गम्भीर रहँदै त्यसको प्रभावकारी उपयोग गर्न आग्रह गरेका छन्।
मंगलबारदेखि सुरु भएको सांसद अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले वर्तमान समयलाई असाधारण अवसरको रूपमा व्याख्या गरे। यस्तो अवसरलाई परिणाममुखी ढंगले उपयोग गर्न नसकिए आत्ममूल्यांकन नै कठिन हुने उनको भनाइ थियो।
अर्यालले समाजमा अनुशासन कायम गर्नु अहिलेको प्राथमिक आवश्यकता भएको उल्लेख गरे। उनले सार्वजनिक सेवा प्राप्त गर्ने क्रममा नेताको पहुँच खोज्ने प्रवृत्तिको अन्त्य आवश्यक रहेको औँल्याउँदै शिक्षा, स्वास्थ्य र कर प्रशासनजस्ता क्षेत्रमा पारदर्शिता र समान व्यवहार सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे।
उनका अनुसार अस्पताल वा विद्यालय जाँदा राजनीतिक सिफारिस खोज्ने चलन हटाउनुपर्नेछ भने कर तिर्दा अनौपचारिक भुक्तानीको अभ्यासलाई अन्त्य गर्नुपर्नेछ।
वर्तमान परिस्थितिमा बन्ने सरकार र त्यससँग सम्बन्धित जिम्मेवारीहरू अत्यन्त संवेदनशील र महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले जनअपेक्षाअनुसार कार्यसम्पादन गर्न सांसदहरूलाई सचेत गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।