काठमाडौं – राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोगका लागि एक करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी गराएकी छन् । अब आजैबाट आफ्नो अकाउन्टमा सहयोग बन्द गर्न उनले अपिल गरेकी छन् ।
साम्बाले आफूलाई खुट्टामा लागेको चोटको उपचारारार्थ सहयोग अपिल गरेकी थिइन् । पछिल्लो २४ घन्टामा नै उनलाई करिब डेढ करोड सहयोग जुटेको हो । उनले सबैलाई धन्यवाद दिएकी छन् ।
'मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ-संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ', साम्बाले भनेकी छन्, 'कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।
साम्बाले आफ्नो उपचार सफल हुने र चाँडै मैदानमा फर्किने आशा पनि व्यक्त गरेकी छन् । साम्बाले सोमबार आफ्नो उपचारका लागि आर्थिक अभाव भएको जनाउँदै सहयोगको अपिल गरेकी थिइन् । उनलाई देश तथा विदेशबाट सहयोगको थुप्राे लागेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।