धादिङ– बेनीघाट रोराङ गाउँपालिकाको चरौदीमा आज भएको बस दुर्घटनाका घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आज बिहान करिब सवा १ बजेतिर त्रिशूलीमा खसेको थियो।
दुर्घटनामापरि मृत्यु हुनेको संख्या अहिलेसम्म १८ जना पुगेको प्रहरीले पुष्टि गरेको छ। २५ जना घाइते भएका छन्। घाइतेमध्ये २४ जनलाई भने थप उपचारका लागि काठमाडौँ पठाइएको हो।
घाइते एक जनाको भने मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी न्युजिल्यान्डकी नागरिक हुन्। अवस्था सामान्य भएकाले उनले आफू काठमाडौं नजाने र यही उपचार गर्ने बताएकी थिइन्।
मृतकको शव पोष्टमार्टमका लागि गजुरी सामुदायिक अस्पतालमा पठाइएको छ।
बस आइतबार साँझ ७ बजे पोखराको पर्यटक बसपार्कबाट काठमाडौँका लागि छुटेको थियो। पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालीले सञ्चालन गरेको बसमा केही विदेशी नागरिक पनि चढेका थिए।
बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार शाहीका अनुुसार बस धनी ओमकुमार श्रेष्ठ पनि त्यही बसमा थिए। उनको घटनास्थलमै मृत्यु भएको छ। गाडी चालक भने बेपत्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।