काठमाडौँ– निर्वाचन आयोगले आगामी फागुन २१ गते तय गरिएको निर्वाचनलाई स्वच्छ, मर्यादित र प्रतिस्पर्धात्मक बनाउन राजनीतिक दल तथा सरोकारवालालाई संयमता र सहकार्यका साथ अघि बढ्न आग्रह गरेको छ।
नेपाल पत्रकार महासंघ कोसी प्रदेशद्वारा विराटनगरमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विगतका अनुभव स्मरण गर्दै निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको निषेधात्मक अभ्यासले लोकतान्त्रिक प्रतिस्पर्धालाई कमजोर बनाउने बताएका हुन्।
उनले २०४८ सालको निर्वाचन सन्दर्भ उल्लेख गर्दै त्यतिबेला केही शक्तिहरूमाथि प्रचार तथा उम्मेदवारीमा लगाइएका अवरोधहरूले राजनीतिक वातावरणमा नकारात्मक प्रभाव पारेको उदाहरण प्रस्तुत गरे।
उनका अनुसार निर्वाचनमा सहभागी सबै राजनीतिक शक्तिले समान अवसर प्राप्त गर्नु र खुला रूपमा प्रतिस्पर्धा गर्न पाउनु नै वास्तविक लोकतान्त्रिक अभ्यास हो। पछिल्ला दिनहरूमा केही स्थानमा देखिएका निषेधसम्बन्धी प्रयासहरूलाई सम्बन्धित पक्षसँगको समन्वयमार्फत नियन्त्रण गरिएको जानकारी पनि उनले दिए। दलका नेतृत्वले कानुनविपरीत गतिविधि रोक्न र कार्यकर्तालाई अनुशासनमा राख्न थालेको प्रयासलाई सकारात्मक रूपमा लिइएको उनको भनाइ थियो।
प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सफल बनाउन सञ्चार क्षेत्रको भूमिका पनि महत्वपूर्ण रहने उल्लेख गरे। सञ्चारमाध्यमबाट प्रवाह हुने सामग्रीले ऐतिहासिक अभिलेखको रूप लिन सक्ने भएकाले जिम्मेवार र तथ्यपरक समाचार सम्प्रेषण गर्न उनले सञ्चारकर्मीहरूलाई आग्रह गरे।
उनले लोकतान्त्रिक प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने तथा सबै पक्षलाई अनुशासनको सीमाभित्र रहन प्रेरित गर्ने किसिमको पत्रकारिताले निर्वाचन प्रक्रियालाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।