काठमाडौं– सडकमा एक वृद्धमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पारस बममाथि अभद्र व्यवहारको मुद्दा चलाइएको छ । उनलाई जिल्ला प्रशासन कार्यालयबाट सात दिन म्याद लिएर अनुसन्धान भइरहेको छ ।
रक्सीले मातेका वृद्ध पुरुषमाथि एक प्रौढ व्यक्तिले मुक्का हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत मंगलबार उक्त कार्यमा संलग्न बमलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो ।
उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । कानूनी व्यवस्था अनुसार परिसरले जिप्रकाबाट सात दिन म्याद लिएर अनुसन्धान गरेको हो ।
नेपालको मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ११८ मा अभद्र व्यवहारसम्बन्धी कानूनी व्यवस्था रहेको छ । यस दफाअनुसार कुनै पनि व्यक्तिले सार्वजनिक स्थलमा कसैलाई गालीगलौज, कुटपिट वा अश्लिल व्यवहार गरेको खण्डमा त्यसलाई अभद्र व्यवहार मानिन्छ । यस्तो कार्य गरेको प्रमाणित भएमा अधिकतम १ वर्षसम्म कैद वा १०,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । यदि यो व्यवहार यौनिक दुव्र्यवहारसँग सम्बन्धित छ भने दफा २२२ अन्तर्गत थप कडा सजाय हुन सक्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।