काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फेरि कारागार फर्किने भएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू फेरि कारागार फर्किने जानकारी दिएका हुन्।
लामिछानेले फेसबुकमा लेखेका छन्, 'संयोगले आज मेरो जन्मदिन परेछ। र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु।'
तर उनले पछिल्लो सरकारले आफूमाथि चरम राजनीतिक प्रतिशोध साँधेर आफ्नो जिना हराम गरेको दाबी गरेका छन्। उनले अगाडि भनेका छन्, 'आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु। ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरण सहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेक माथि नै छोड्न चाहन्छु। यति कामना गर्छु कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन।'
सहकारी ठगी आरोपमा लामिछाने नख्खु कारागारमा रहँदै आएपनि जेनजी आन्दोलनका क्रममा अनियन्त्रित भिडको सहयोगमा उनी रिहा भएका थिए। तर रिहाइको चौतर्फी आलोचना भएसँगै उनी फेरि कारागार नै फर्किन लागेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।