काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियामा चासो राख्दै कानुनी शासनको जगमा निकास निकाल्न आग्रह गरेको छ ।
आयोगले एक विज्ञप्ति जारी गरी, ‘लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने’ बताएको छ । आयोगले आफ्ना पदाधिकारीहरु राष्ट्रपति रामचन्द्र पौडेलको सम्पर्कमा रहेको पनि उल्लेख गरेको छ ।
गत सोमबार र मंगलबार भएको घटनामा सुरक्षाकर्मीहरुको व्यापक बल प्रयोग र त्यसपछि भएको प्रदर्शनका कारण हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीहरुले व्यापक आगजनी गरेर सिंहदरबार, सर्वोच्च अदालत संघीय संसद जलाएका थिए । अन्य सरोकारवालाहरु पनि आयोगले काम गरिरहेको जानकारी दिएको छ ।
‘मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ’ आयोगले विज्ञप्तिमा भनेको छ, ‘मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष आयोगले राखेको छ ।’
उसले मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको रक्षाका लागि आवश्यक काम गर्ने भन्दै अहिलेको परिस्थितिका बारेमा अन्य सरोकारवालाहरुसँग पनि निरन्तर सम्पर्क भइरहेको जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।