काठमाडौं– मंगलबारको आन्दोलनपछि राति विभिन्न बैंक तथा पसलहरुमा लुटपाटमा संलग्नहरुलाई सेनाले नियन्त्रणमा लिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरेको छ । मंगलबार राति काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिलाई सेनाले पक्राउ गरेको हो ।
पछिल्लो परिस्थितिको अनुचित फाइदा उठाई बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
यस्तै मोरङ जिल्लाको विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा चोरी तथा लुटपाट गर्दै हिँड्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई चोरी गरेको सामानसहित रंगेहात पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट चोरी गरिएका विभिन्न सामानहरू समेत बरामद गरेको छ। बरामद भएका सामानहरूमा मे १ ह ६५०५ नम्बरको टेम्पो, बीआर ३८ एन ४५४१ र बीआर ३८ भी २१२९ नम्बरका दुई वटा मोटरसाइकल, 'ग्रीन नेपाल' लेखिएको १२ भोल्टको ७ वटा ब्याट्री, ३ वटा इन्भर्टर, १ थान सोफा र अन्य पुराना फर्निचरका सामानहरू रहेका छन्।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१८ का ७० वर्षीय चन्दन मण्डल र ३९ वर्षीय गंगा प्रसाद मण्डल रहेका छन्। यसका साथै, भारतका २० वर्षीय अभिषेक प्रसाद र २५ वर्षीय रामतेश प्रसाद पनि पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।