काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताइन्।
‘संविधान जारी भएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गर्दैछ, त्यसको साझेदार एनआरएनए बन्नुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन्। नेपालमा पर्यटन, जलविद्युत्, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्ने वातावरण बनेको उनको भनाई छ।
नेपालको समृद्धिले मात्र विदेशमा रहेका नेपालीको शिर उचाइमा पु¥याउने बताउँदै राष्ट्रपति भण्डारीले भूकम्प र बाढीपहिरोपछि राहत, उद्धार एवं पुनःनिर्माणमा एनआरएनएले खेलेको भूमिकाको प्रशंसा गरिन्।
कार्यक्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालको विकासमा एनआरएनएको विशेष भूमिका हुने अपेक्षा गरेको बताए । परराष्ट्रमन्त्री महराले भने, ‘विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल विकासको ऊर्जा बन्ने विश्वास छ।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले एनआरएनएको मागअनुसार नेपालमा लगानीको वातावरण बनाउन माग गरिन्।
एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले देश समृद्ध नभए व्यक्तिगत सफलताको अर्थ नरहने भएकाले आफूहरुले राष्ट्र विकासमा भूमिका खेल्ने प्रतिबद्धता जनाए।
एनआरएनएका अध्यक्ष शेष घलेले ७७ देशमा ७० हजार नेपाली सदस्य रहेको जानकारी दिँदै सम्मेलनले चयन गर्ने नयाँ नेतृत्वले संगठन अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
यही असोज ३१ गतेसम्म चल्ने सम्मेलनमा उपाध्यक्ष भवन भट्ट, जमुना गुरुङ र टिबी कार्कीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।